काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का सल्लाहकार, स्वकीय सचिवालय तथा अन्य पदाधिकारी र कर्मचारीको विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको टोलीमा संलग्न २५ जना पदाधिकारी तथा कर्मचारीको विवरण सात महिनापछि आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सल्लाहकार समूह तथा विज्ञ टोलीमा मन्त्री र राज्यमन्त्रीसरहका पदाधिकारीसमेत रहेका छन् ।
प्रधानमन्त्रीका अवैतनिक मुख्य राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकार रहेका छन् । उनलाई मन्त्रीसरहको पद दिइएको छ । त्यस्तै राजनीतिक सल्लाहकार असिम शाह पनि मन्त्रीसरहकै पदमा छन् ।
प्रधानमन्त्रीका अवैतनिक स्वास्थ्य सल्लाहकार प्राडा जगदिश प्रसाद अग्रवाल रहेका छन् । उनलाई पनि मन्त्रीसरहको पद दिइएको विवरणमा उल्लेख छ ।
त्यस्तै नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र रहेका छन् । उनीहरूलाई राज्यमन्त्रीसरहको सुविधा दिइएको छ ।
प्रधानमन्त्रीको सचिवालयतर्फ प्रमुख स्वकीय सचिवमा सुवाष शर्मा रहेका छन् । उनलाई राजपत्रांकित विशिष्ट श्रेणी (रा.प. विशिष्ट) सरहको पद दिइएको छ । त्यस्तै स्वकीय सचिव नविन भण्डारी रा.प. प्रथमसरहको पदमा छन् ।
सहसचिवसरह चार जना
सहसचिव (रा.प. प्रथम) सरहको जिम्मेवारीमा सञ्जिव पाण्डे, दिपा दाहाल, सन्तोष गिरी र विश्व राई रहेका छन् ।
पाण्डेलाई विकास परियोजना, दाहाललाई प्रेस तथा अनुसन्धान विज्ञ, गिरीलाई कार्यक्रम तथा भ्रमण संयोजक र राईलाई सामाजिक विकास विज्ञको जिम्मेवारी दिइएको छ ।
त्यस्तै उपसचिवसरहको जिम्मेवारीमा प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्य रहेका छन् ।
सहायक विज्ञका रूपमा सुमन गौतम नागरिक उड्डयन तथा रवि किरण अधिकारी भाषा तथा मस्यौदा क्षेत्रमा कार्यरत छन् ।
प्रेसदेखि ग्राफिक्स र भिडियोग्राफीसम्म
प्रधानमन्त्रीको सचिवालयमा शाखा अधिकृत तथा अन्य प्राविधिक र प्रशासनिक तहमा पनि कर्मचारी कार्यरत रहेको विवरणमा उल्लेख छ ।
सुरेन्द्र बजगाई प्रेस सहजकर्ता तथा रोशन तामाङ्ग ग्राफिक्स डिजाइनमा कार्यरत छन् । त्यस्तै बेदानन्द जोशी, हेम नारायणदास चौधरी, अनुप थापा मगर, ऋषी थापा, अमृत पाण्डे, राज कुमार गौतम र बेनिस कार्की पनि सचिवालयमा कार्यरत रहेको विवरणमा उल्लेख छ ।
चौधरीलाई अनुसन्धान अधिकृत र अमृत पाण्डेलाई भिडियोग्राफरको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणमा प्रधानमन्त्रीको सचिवालय तथा सल्लाहकार समूहमा रहेका पदाधिकारी र कर्मचारीको पद तथा जिम्मेवारीसमेत उल्लेख गरिएको छ ।

