काठमाडौं । मनसुन बाहिरिएको ठानेर ढुक्क भएका राजधानीवासी सोमबार अचानक वर्षा भएपछि चिन्तित भएका छन् । मौसममा फेरि बदली देखिएसँगै वर्षा भएपछि सर्वसाधारणमा मनसुन पुनः सक्रिय भएको हो कि भन्ने चासो बढेको छ ।
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षा हुने सम्भावना रहे पनि लामो समयसम्म लगातार झरी नपर्ने जनाएको छ ।
मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षा हुने सम्भावना रहे पनि लगातार लामो समयसम्म वर्षा हुने अवस्था भने नरहेको बताइन् ।
विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ ।
त्यस्तै, कोशी, मधेस र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
मौसम प्रणालीको प्रभावका कारण केही स्थानमा बदली र वर्षा भए पनि तत्काल लामो समयसम्म निरन्तर झरी पर्ने सम्भावना नरहेको विभागले जनाएको छ ।

