– मनोनयन फारम बिहान १० बजेदेखि वितरण, दर्ता दिउँसो १२ः३० देखि अपराह्न ४ बजेसम्म।
– मतदाताको अन्तिम नामावली बिहान ११ः३० बजे सार्वजनिक गर्ने कार्यतालिका।
– संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय, ११ सहमहामन्त्री निर्वाचित र चार मनोनीत हुने।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक मतदाता नामावलीमा सात हजार ११४ महाधिवेशन प्रतिनिधि समेटिएका छन्। छुटेका प्रतिनिधिको नाम अन्तिम सूचीमा समावेश गरिने समितिले जनाएको छ।
निर्वाचन समितिको पछिल्लो सूचनाअनुसार मनोनयन फारम वितरण बिहान १० बजेदेखि सुरु गर्ने कार्यक्रम छ। उम्मेदवारीको दरखास्त तथा मनोनयनपत्र भने दिउँसो १२ः३० देखि अपराह्न ४ बजेसम्म दर्ता गर्न सकिनेछ।
समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी काम अघि बढाएको छ। सदस्यसचिव राजु कटुवालका अनुसार उम्मेदवारले निर्धारित शुल्क बुझाएर मनोनयन दर्ताको प्रक्रिया पूरा गर्नुपर्नेछ। महाधिवेशन प्रतिनिधिको नामावली सभागृहमा समेत राखिएको छ।
मतदाता सूचीमाथि दाबीविरोधका लागि आज बिहान ९ः३० बजेसम्मको समय तोकिएको थियो। दाबीविरोधमाथि जाँचबुझ बिहान १०ः३० बजेसम्म गरी अन्तिम मतदाता नामावली बिहान ११ः३० बजे प्रकाशन गर्ने कार्यतालिका छ। त्यसपछि उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढ्नेछ।
नेपाली कांग्रेस सोमबारको बन्दसत्रबाट पारित संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। नयाँ संरचनामा एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति र तीन महामन्त्री रहने व्यवस्था छ। उपसभापति र महामन्त्रीमा कम्तीमा एक–एक महिला रहनेछन्।
सहमहामन्त्रीका ११ पदमा निर्वाचन हुनेछ भने थप चार सहमहामन्त्री केन्द्रीय सदस्यहरूबाट मनोनीत गरिनेछन्। मनोनीत सहमहामन्त्रीमा एक महिला अनिवार्य गरिएको छ। कोषाध्यक्ष पनि केन्द्रीय सदस्यहरूमध्येबाट मनोनीत हुने व्यवस्था छ।
सभापतिले केन्द्रीय सदस्यबाट प्रवक्ता र आवश्यकताअनुसार विषयगत सहप्रवक्ता तोक्न सक्नेछन्। नयाँ संरचनामा महिला, विभिन्न समावेशी समूह, प्रदेश तथा युवाको प्रतिनिधित्वका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ।

