काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख ३८ हजार ६७९ रुपैयाँ सहयोग प्राप्त भएको छ ।
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (CNCBC) र पाल्पाको रिब्डीकोट बुद्ध विहारबाट उक्त सहयोग रकम हस्तान्तरण गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।
सहयोगमध्ये ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (CNCBC) ले २८ लाख ९८ हजार ६७९ रुपैयाँ र रिब्डीकोट बुद्ध विहार, पाल्पाले ४० हजार रुपैयाँ प्रदान गरेका छन् ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।
विपद्को कठिन घडीमा बाढीपीडित नागरिकको साथमा उभिएर सहयोग गरेको भन्दै दुवै संस्था तथा सहयोगीप्रति मन्त्री श्रेष्ठको सचिवालयले आभार व्यक्त गरेको छ ।

