काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर पहिलो साता राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो।
राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने एमालेले जनाएको छ।
वडा र पालिका अधिवेशनको मिति तय
एमाले स्थायी कमिटी बैठकले स्थानीय तह र वडा कमिटीको अधिवेशनको मिति पनि तय गरेको छ। बैठकले मंसिर २६ गते वडा कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ।
त्यसपछि पुस ४ गते पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरिएको छ। स्थानीय तहका अधिवेशनअघि मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने एमालेको तयारी छ।
प्रदेशस्तरीय भेला पनि आयोजना गरिने
वडा र पालिका अधिवेशनपछि एमालेले प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरेको छ। पार्टीका विभिन्न तहका कमिटीलाई व्यवस्थित गर्ने उद्देश्यसहित अधिवेशन तथा भेला आयोजना गर्न लागिएको हो।
यसैगरी जिल्ला अध्यक्ष पद रिक्त रहेका जिल्लामा अध्यक्ष तोकेर माथिल्लो कमिटीमा पठाउन पनि बैठकले निर्देशन दिएको छ। हाल १३ वटा जिल्लामा जिल्ला अध्यक्ष पद रिक्त रहेको एमालेले जनाएको छ।
बिहीबार बसेको स्थायी कमिटी बैठक भने स्थगित गरिएको छ। बैठक शुक्रबार बिहान पुनः बस्नेछ।

