काठमाडौं । लमजुङको बेँसीशहर नगरपालिका–१ उदिपुरमा ३७ वटा व्यवसायमा बजार अनुगमन गरिएको छ। आर्थिक वर्ष २०८३/८४ मा १० पटक बजार अनुगमन गर्ने योजनाअन्तर्गत चाडपर्व लक्षित अनुगमन तेस्रोपटक गरिएको हो।
अनुगमन गरिएका व्यवसायमध्ये १५ वटा किराना तथा स्टोर्स, ११ वटा होटल तथा खाजा पसल, एक मासु पसल, एक सैलुन, तीनवटा स्टेसनरी, एक पोल्ट्री फर्म, एक भाँडा पसल, एक हार्डवेयर, एक इलेक्ट्रोनिक पसल, एक बुटिक एन्ड टेलरिङ सेन्टर र एक फेन्सी पसल रहेका छन्।
बेँसीशहर नगरपालिकाका प्रशासकीय अधिकृत दिपेश अधिकारीको नेतृत्वमा भएको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारी, एकीकृत सेवा कार्यालयका प्रतिनिधि कमल भण्डारी, उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बोल कुमार श्रेष्ठ सहभागी थिए।
अनुगमनका क्रममा व्यवसायमा वस्तुको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, सरसफाइ, खाद्यवस्तुको अवस्था तथा उपभोक्ताको हितसँग सम्बन्धित विषयमा निरीक्षण गरिएको थियो।
अनुगमनका क्रममा विगतका अनुगमनमा दिइएका निर्देशन पालना गरेको पाइए पनि केही व्यवसाय नगरपालिकामा सूचीकृत नभएको पाइएको थियो। त्यस्ता व्यवसायलाई तत्काल नगरपालिकामा सूचीकृत हुन निर्देशन दिइएको छ।
टोलीले व्यवसायीलाई उपभोक्ता हित संरक्षण तथा खाद्य सुरक्षाका विषयमा आवश्यक सुझावसमेत दिएको थियो।
चाडपर्वका समयमा बजारमा हुने मूल्यवृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्रीवितरण नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीले बताए।

