काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सम्भावित दुर्घटना रोक्न आज साँझदेखि अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै उक्त राजमार्ग भएर सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन रोकिएको जानकारी दिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार सडकको अवस्था जोखिमपूर्ण भएकाले अर्को सूचना जारी नभएसम्म सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ।
राजमार्ग अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौं भित्रिने तथा काठमाडौं बाहिरिने सवारीसाधन प्रभावित भएका छन्। सडक भासिएको क्षेत्रमा जोखिम रहेकाले यात्रु तथा सवारीचालकलाई प्रशासनको सूचनाअनुसार यात्रा गर्न आग्रह गरिएको छ।

