गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित भएका ३६ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौज परिचालन गरी बाढी प्रभावितहरूको उद्धार गरेको हो।
नेपाली सेनाका अनुसार जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायुबाट १२ जनाको उद्धार गरिएको छ। विभिन्न स्थानबाट उद्धार गरिएका उनीहरूको कुल संख्या ३६ पुगेको छ।
बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

