काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जति प्रहार भए पनि नढल्ने बताएका छन्। एमालेको सम्पर्क विशेष संगठन कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सम्बोधनका क्रममा ओलीले महाभारतका भीष्म पितामहको प्रसंग उल्लेख गर्दै आफूमाथि पनि अनेक प्रहार भएको बताए। नजिक आएर कमरेड भन्नेहरूले समेत आफूलाई धोका दिएको उनको भनाइ थियो।
जति प्रहार भए पनि आफू नढल्ने दाबी गर्दै उनले भने, ‘भीष्म पितामह शरशय्यामा ढलेका थिए, धेरै बुढो भइसकेका थिए। म त्यति बुढो भएको छैन, ढल्दिनँ, जति हाने पनि ढल्दिनँ।’
ओलीले आफ्नो साढे पाँच दशकभन्दा लामो राजनीतिक जीवन देश र जनताका लागि समर्पित गरेको बताए। आफूले थालेको राजनीतिक आन्दोलनको उद्देश्य पञ्चायती व्यवस्था अन्त्य गर्ने, राजतन्त्र ढाल्ने र समाजवादमा पुग्ने रहेको उनले उल्लेख गरे।
‘५७ वर्षअघि यस आन्दोलनको पुनर्गठन, एकीकरण, क्रान्तिकारी आन्दोलन थालेको थिएँ। पञ्चायत फाल्ने, राजतन्त्र ढाल्ने र त्यसपछि समाजवादमा पुग्ने भन्ने त्यतिबेलाको उद्देश्य थियो। म जिउँदो हुँदाहुँदै राजतन्त्र ढालिएको छ, पञ्चायत फालिएको छ,’ उनले भने।
आफूले विगतमा पनि राज्यबाट झुटा मुद्दा र जेल सजाय भोग्नुपरेको उल्लेख गर्दै ओलीले अहिले मात्रै आफूलाई ज्यानमारा भनिएको नभई विगतमा पनि यस्ता आरोप लगाइएको बताए।
‘राज्यले अहिले मात्रै ज्यानमारा भनेको होइन नि, त्यतिबेला पनि ज्यानमारा भनेको थियो,’ उनले भने। ओलीले आफू बाँचुन्जेल कसैका सामु नझुक्ने र संघर्ष जारी राख्ने बताए। आफूलाई मृत्युको डर नभएको उल्लेख गर्दै उनले देश र जनताका लागि काम गरेको दाबी गरे।
‘कुन दिन मरिन्छ भन्ने थाहा छैन, नमरुन्जेल लडिन्छ। बाँचुन्जेलसम्म बैरीसँग झुकिँदैन,’ ओलीले भने।
आफ्नो व्यक्तिगत स्वार्थका लागि नभई देशका लागि काम गरेको उल्लेख गर्दै उनले भने, ‘मलाई चिन्ता छैन, मलाई के हुन्छ भन्ने कुरा कुनै चिन्ता छैन। किनभने, मैले मेरा लागि कामै गरेको होइन। मरिन्छ, यो देशका लागि।’

