काठमाडौं । आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ। आइतबार भएको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो।
नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो। क्यानडालाई कम स्कोरमा रोक्ने क्रममा नेपालका करण केसी, ललित राजवंशी, नन्दन यादव र सन्दीप लामिछानेले समान दुई विकेट लिए।
क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। समित गोहेलले ३५, श्रेयास मोभ्भा र कप्तान हम्जा तारिकले समान २६ रन जोडे। अखिल कुमार ३० रनमा अविजित रहे।
त्यसअघि ओमानको अल अमेरेट क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो।
नेपालका लागि कप्तान रोहित पौडेलले शतकीय इनिङ्स खेले। उनले १२७ बलमा आठ चौका र एक छक्काको मद्दतमा १०१ रन बनाए। गुल्सन झाले ३४ बलमा चार चौका र तीन छक्कासहित ४८ रन जोडे। बसिर अहमदले ३० रन बनाए।
ओपनर अर्जुन कुमाल ५४ बलमा २३ रन बनाएर आउट भए। आशिफ शेखले तीन बलमा एक चौकासहित एक रन बनाए। इसान पाण्डे शून्यमा आउट भए। करण केसीले आठ र दीपेन्द्रसिंह ऐरीले छ रन बनाए।
क्यानडाका लागि अखिल कुमारले चार विकेट लिए। सुखजिन्दर सिंहले तीन तथा जाहिद सिरजादले दुई विकेट लिए।
शृंखलाको दोस्रो खेलमा नेपालले मंगलबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
लिग–२ को अन्तिम शृंखला खेलिरहेको नेपालले क्यानडालाई हराएसँगै शीर्ष ६ मा रहेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना जीवित राखेको छ। लिग–२ को शीर्ष चारमा रहेर ग्लोबल छनोट खेल्ने नेपालको सम्भावना भने यसअघि नै समाप्त भइसकेको छ।
अब नेपालले क्यानडासँगको अर्को खेल जित्नुका साथै ओमानसँगका दुई खेलमध्ये कम्तीमा एक खेल जित्नुपर्ने चुनौती छ। शीर्ष ६ मा रहँदै एकदिवसीय मान्यता जोगाउन नेपालका लागि बाँकी खेलका नतिजा महत्त्वपूर्ण हुनेछन्।

