काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीका नवदीक्षित प्रहरी निरीक्षकलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्न निर्देशन दिएका छन्। उनले संगठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन पनि आग्रह गरेका छन्।
प्रहरी निरीक्षक आधारभूत तालिम (१–१८४औँ समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नैतिकता, निष्ठा, इमानदारी, अनुशासन र जवाफदेहितालाई प्रहरी सेवाको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका हुन्।
१६ महिने आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकलाई बधाई तथा सफलताको शुभकामना दिँदै उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे। प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान र सीप हासिल गरेको विश्वास व्यक्त गर्दै उनले त्यसलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने बताए।
प्रधानमन्त्री शाहले संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही पालना गर्नु तथा गराउनु प्रहरी कर्मचारीको जिम्मेवारी भएको उल्लेख गरे। उनका अनुसार जिम्मेवारीप्रतिको जवाफदेहिता पनि व्यावसायिक सफलताको महत्त्वपूर्ण पक्ष हो।
नेपाल प्रहरीले अग्रभागमा खटिएर देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा संकटका बेला नागरिकको जिउधनको रक्षा गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले कुनै पनि अनुचित प्रभावमा नपरी र भेदभाव नगरी कर्तव्यमा अडिग रहन आग्रह गरे।
‘आम नागरिकहरूलाई अनुभूत हुने गरी काम गर्न’ नवदीक्षित प्रहरी निरीक्षकलाई आग्रह गर्दै उनले प्रहरीको कामबाट नागरिकले सुरक्षा र सेवाको अनुभूति गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री शाहले बदलिँदो समयसँगै अपराधका स्वरूप र प्रवृत्तिसमेत परिवर्तन भइरहेको उल्लेख गर्दै निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्ने बताए।
सूचना प्रविधिको प्रयोगले प्रहरीको काम छिटो, छरितो र पारदर्शी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो। यस्तो अनुसन्धानका लागि प्रहरी संगठन, नेतृत्व र प्रशिक्षकको समेत महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नवदीक्षित प्रहरी अधिकृतको कार्यसफलताको कामना गर्दै उनीहरूलाई चुनौतीपूर्ण प्रहरी सेवामा आबद्ध हुन प्रेरित गर्ने अभिभावक तथा परिवारजनप्रति आभार व्यक्त गरे। उनले दीक्षान्त समारोह आयोजना गर्ने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई पनि धन्यवाद दिए।

