काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारलाई आफूमाथि लागेका आरोपबारे छानबिन निष्कर्षमा नपुग्दासम्म सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
पार्टीका महामन्त्री विपिन आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै सुनारसँग सम्बन्धित सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उठेका गम्भीर प्रश्नप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन्।
सुनारमाथि महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता आरोप सार्वजनिक भएका छन्। रास्वपाले यी विषयलाई गम्भीर र संवेदनशील रूपमा लिएको जनाएको छ।
पार्टीले यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पार्दै महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको दोहोर्याएको छ।
विषयको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ। अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको पार्टीले जनाएको छ।
यता, सांसद सुनारले भने आफूमाथि लागेका सबै आरोप झुटा भएको दाबी गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर प्रहार र विभिन्न आरोपको सिकार भइरहेको बताएका छन्।
आफूसँग जोडेर एक महिलासँगको अडियो संवाद सार्वजनिक गरिएको उल्लेख गर्दै उनले उक्त अडियो कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्रविधि प्रयोग गरेर तयार पारिएको दाबी गरेका छन्।
‘आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटा हुन्। एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन्,’ सुनारले भनेका छन्।
उनले आफूमाथि उठेका प्रत्येक प्रश्न र आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन्। छानबिन प्रक्रियामा आफू पूर्ण रूपमा सहयोग गर्न तयार रहेको पनि उनले बताएका छन्।
‘भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार र घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु,’ उनले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
रास्वपाले सार्वजनिक भएका विषयमा राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चालिने स्पष्ट पारेको छ।
कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने प्रतिबद्धतासमेत पार्टीले व्यक्त गरेको छ।

