सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यले देशभरका ठूला सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विस्तारको काम थालिएको हो।
शिक्षा क्षेत्रको रूपान्तरणका लागि यसलाई ऐतिहासिक कदमका रूपमा उल्लेख गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चालु आर्थिक वर्षमा ती विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका छन्।
मन्त्री पोखरेलका अनुसार योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ। निकासा भएको रकमबाट ती विद्यालयमा आधुनिक १२ कोठे तीनतले भवन निर्माणको काम अघि बढाइनेछ।
प्रतिविद्यालय करिब ६ करोड रुपैयाँ लागतमा निर्माण हुने भवनमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको व्यवस्था गरिनेछ। यसबाट विद्यार्थीको सिकाइ वातावरणलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने सरकारको अपेक्षा छ।
मन्त्री पोखरेलले केही सामुदायिक विद्यालयमा विद्यार्थीको उच्च चाप रहनु सकारात्मक भए पनि कतिपय विद्यालय विद्यार्थी अभावबाट गुज्रिरहेको अवस्थाप्रति सरकार सचेत रहेको बताएका छन्।
‘कतिपय सामुदायिक विद्यालयहरूमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालयहरू विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ। विद्यालयहरूबीचको यो असमानतालाई चिर्न हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ,’ उनले भने।
उनले आगामी दिनमा देशका सम्पूर्ण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समान रूपमा सुदृढ बनाउँदै विद्यालयहरूबीचको असमानता अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

