काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, मिप्रामा २०औँ कन्यादेवी कप–२०८३ अन्तर्गत पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु भएको छ।
कन्यादेवी क्लबको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रम क्लबका अध्यक्ष सुब्बा गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।
उद्घाटन समारोहमा वडाध्यक्ष, जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधि, युवा क्लबका सदस्य, स्थानीय बुद्धिजीवी, आमा समूह र बाबा समूहका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।
‘खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्द्धनका लागि फुटबल प्रतियोगिता, पर्यटकीय गाउँ मिप्रा जाऔँ, फुटबल प्रतियोगितामा रमाऔँ’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो। आयोजकका अनुसार प्रतियोगितामा पुरुषतर्फ २४ टोली सहभागी छन्।
खेलकुदको विकास, युवाको प्रतिभा पहिचान तथा प्रवर्द्धन, स्थानीयस्तरमा खेल संस्कृतिको विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताले मिप्रा गाउँको पर्यटकीय पहिचानलाई थप उजागर गर्नुका साथै स्थानीय क्षेत्रमा खेलकुदमय वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मर्स्याङ्दी गाउँपालिकाले खेलकुदलाई स्वस्थ, अनुशासित र सिर्जनशील समाज निर्माणको महत्त्वपूर्ण आधारका रूपमा लिँदै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाको विकास र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ।

