नुवाकोट । गत भदौ १० गते आएको विनाशकारी हिमबाढीले त्रिशूली नदीमाथिको मोटरेबल पुल बगाएपछि समस्यामा परेका नुवाकोटको त्रिशूलीबजार वारिपारिका बासिन्दालाई राहत मिलेको छ। निर्माण व्यवसायीको पहलमा त्रिशूली नदीमाथि २६७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरी सञ्चालनमा ल्याइएपछि स्थानीयको आवतजावत सहज भएको हो।
विदुर नगरपालिका–१ स्थित ढुङ्गे र त्रिशूलीबजार सिरानलाई जोड्ने गरी निर्माण गरिएको पुलबाट बाढीका कारण टुटेको पैदल सम्पर्क पुनःस्थापित भएको छ। पुल सञ्चालनमा आएपछि बिरामीलाई अस्पताल पुर्याउन, बालबालिकालाई विद्यालय जान र दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न सहज भएको छ।
बाढीले मोटरेबल पुल बगाएपछि स्थानीयले सदरमुकाम विदुर आवतजावत गर्न निकै सास्ती खेप्नुपरेको थियो। नदी वारपार गर्न विभिन्न स्थानमा तुइन र जिपलाइन प्रयोग गर्नुपर्ने तथा घण्टौँसम्म पालो कुर्नुपर्ने बाध्यता थियो। विशेषगरी बिरामी, वृद्धवृद्धा, बालबालिका र दैनिक काममा जाने नागरिक बढी प्रभावित भएका थिए।
यस्तो अवस्थामा नेपाल निर्माण व्यवसायी महासंघको निर्माण व्यवसाय प्रवर्द्धन कोषको लगानी, नुवाकोट निर्माण व्यवसायी संघको सक्रियता र विदुर नगरपालिकाको समन्वयमा झोलुङ्गे पुल निर्माण गरिएको हो।
नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलको नेतृत्वदायी पहलमा असोज १ गते दुवैतर्फ जग पूजा गरी निर्माण सुरु गरिएको पुल २९ दिनमै तयार भएको हो। बिहीबार बिहानदेखि सर्वसाधारणका लागि पुल खुला गरिएको निर्माण पक्षले जनाएको छ।
सरकारी अनुमानभन्दा कम लागतमा निर्माण
पुल निर्माणका लागि सरकारी प्राविधिक अनुमान तीन करोड रुपैयाँभन्दा बढी रहेको थियो। तर निर्माण व्यवसायी महासंघ र नुवाकोट निर्माण व्यवसायी संघको पहलमा करिब एक करोड ५० लाख रुपैयाँमा पुल निर्माण गरिएको जनाइएको छ। निर्माणसम्बन्धी सबै हिसाब जोड्दा कुल लागत एक करोड ७५ लाख रुपैयाँ आसपास पुगेको बताइएको छ।
पुल निर्माणमा सस्पेन्सन ब्रिज डिभिजन, पुल्चोक र पूर्वाधार विकास कार्यालय, विदुरले प्राविधिक सहयोग गरेका थिए। निजी क्षेत्रको अग्रसरता, स्थानीय सरकारको समन्वय र सरकारी प्राविधिक सहयोगका कारण छोटो समयमा पुल निर्माण सम्भव भएको हो।
पुलबाट किस्पाङ र म्यागङ गाउँपालिकाका बासिन्दासहित विदुर नगरपालिका–३, ७, ८, ९, १२ र १३ का विभिन्न क्षेत्रका नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ। निर्माण पक्षका अनुसार नुवाकोटसहित छिमेकी जिल्लाका एक लाखभन्दा बढी मानिसले पुलबाट लाभ लिन सक्नेछन्।
तत्काल पैदल आवतजावत सहज, सडक पुलको आवश्यकता कायमै
झोलुङ्गे पुल सञ्चालनमा आए पनि निर्माणका केही काम बाँकी छन्। लठ्ठाको पखेटा जडान, स्ल्याब र सिँढी निर्माणलगायत काम दसैँपछि पूरा गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ।
सुरक्षाका कारण हाल पैदल यात्रुलाई मात्र आवतजावत गर्न दिइएको छ। स्कुटर तथा मोटरसाइकल सञ्चालनबारे निर्णय भइसकेको छैन। पुलमा सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी खटाएको छ।
यसअघि त्रिशूली नदी वारपार गर्न देवीघाट, बट्टार, हावाघर, गौरीबेँसी र इन्द्रायणीघाटलगायत स्थानमा तुइनको प्रयोग गरिएको थियो। इन्द्रायणीघाट–त्रिशूली क्षेत्रमा जिपलाइनसमेत सञ्चालन गरिएको थियो। झोलुङ्गे पुल बनेपछि पैदल यात्रुले भोग्दै आएको जोखिम र कठिनाइ कम भएको छ।
तर यसले सवारीसाधन सञ्चालन हुने सडक र स्थायी मोटरेबल पुलको आवश्यकता पूरा गरेको छैन। बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणका लागि संघीय र प्रदेश सरकारको पहल आवश्यक रहेको स्थानीयको भनाइ छ।

