प्रथम महिला सविता पौडेलसहित राष्ट्रप्रमुखका रूपमा दिउँसो नवदुर्गा मन्दिर पुगेका राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको विशेष पूजा गरी दर्शन गरेका हुन्। उनलाई रमेश कर्माचार्यले नवदुर्गाको सङ्कल्प पूजा गराएका थिए। राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्तिहरूको अवलोकनसमेत गरेका थिए।
नवदुर्गाका मूल नाइके इन्द्रबहादुर वनमालाले नवदुर्गा भवानीको प्रसादस्वरूप जमरा, टीका, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए। राष्ट्रपति पौडेलले नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई दक्षिणासमेत प्रदान गरेका थिए।
राष्ट्रपति पौडेललाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति, भक्तपुर क्षेत्र नम्बर १ का संघीय सांसद रुकेश रञ्जित, गङ्गालक्ष्मी अवाल, प्रमुख जिल्ला अधिकारी विनोदबहादुर खड्कालगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुख, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख तथा विभिन्न व्यक्तिहरूले स्वागत गरेका थिए।
एक लाख रुपैयाँसहित सम्मान
यस अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थालाई प्रदेश सरकारका तर्फबाट एक लाख रुपैयाँ प्रदान गरेका छन्। संस्थालाई प्रदान गरिएको सम्मानपत्र राष्ट्रपति पौडेलले हस्तान्तरण गरेका थिए।
नवदुर्गा जात्रा सञ्चालनका क्रममा हरेक वर्ष आर्थिक कठिनाइ हुँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयअन्तर्गत एक लाख रुपैयाँ सहयोगसहित संस्थालाई सम्मान गरिएको बताए। उनले नवदुर्गा जात्राको संरक्षणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाका अनुसार विक्रम संवत् २०४५ मा भूकम्प गएपछि दैवीप्रकोपका घटनाका कारण देश र जनताको हित तथा कल्याणका लागि तत्कालीन राष्ट्रप्रमुखले नवदुर्गा मन्दिरमा पूजाअर्चना गर्ने परम्परालाई निरन्तरता दिन थालेका हुन्।
नवदुर्गाअन्तर्गत ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली गरी नौ देवीको पूजा गरिन्छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको नवदुर्गा जात्रा भक्तपुरको मौलिक परम्परा र सम्पदाका रूपमा परिचित छ।

