काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदै छ। त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र अघिल्ला दुई संस्करणमै फाइनल खेलेको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान)ले लगातार तेस्रो वर्ष आयोजना गर्न लागेको प्रतियोगिता यसपटक विभिन्न दृष्टिकोणबाट विशेष बनेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट मान्यता प्राप्त हुनु, चर्चित विदेशी खेलाडीको सहभागिता र पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डिआरएस) प्रयोग गरिनु यस संस्करणका मुख्य विशेषता हुन्।
दुई संस्करण सफलतापूर्वक सम्पन्न भएपछि आइसिसीले एनपिएललाई पूर्ण मान्यता दिएको हो। यसै संस्करणदेखि क्यानले डिआरएस प्रणाली पनि भित्र्याएको छ। नेपालमा पहिलोपटक प्रयोग हुन लागेको यो प्रविधिले खेलका निर्णयलाई थप विश्वसनीय बनाउने क्यानका सचिव पारस खड्काले बताएका छन्।
देशका विभिन्न प्रदेशको प्रतिनिधित्व गर्दै आठ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै विराटनगर किंग्स, मधेशबाट जनकपुर बोल्ट्स, बागमतीबाट चितवन राइनोज तथा काठमाडौं गोर्खाज, गण्डकीबाट पोखरा एभेन्जर्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, कर्णालीबाट कर्णाली याक्स र सुदूरपश्चिमबाट सुदूरपश्चिम रोयल्स सहभागी हुँदै छन्।
यसपटक एनपिएलमा चर्चित विदेशी खेलाडीको उपस्थिति पनि रहनेछ। पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहान, दक्षिण अफ्रिकाका डेविड मिलर, वेस्ट इन्डिजका आन्द्रे रसेल तथा न्युजिल्यान्डका जिमी निसमलगायत खेलाडीले त्रिवि क्रिकेट मैदानमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन्।
साहिबजादा फरहान र डेविड मिलर कर्णाली याक्सबाट खेल्नेछन्। अलराउन्डर आन्द्रे रसेल र श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगर किंग्समा आबद्ध छन्। जनकपुर बोल्ट्सले न्युजिल्यान्डका जिमी निसम, पाकिस्तानका इफ्तिखार अहमद र इंग्ल्यान्डका मोइन अलीलाई टोलीमा समेटेको छ।
त्यस्तै, पोखरा एभेन्जर्सले बंगलादेशका चर्चित अलराउन्डर सकिब अल हसनलाई अनुबन्ध गरेको छ। सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका खेलाडी सेरफेन रदरफोर्ड र फेबियन एलेनलाई टोलीमा भित्र्याएको छ। लुम्बिनी लायन्सले बंगलादेशका ब्याटिङ अलराउन्डर सामिम हुसेनलाई अनुबन्ध गर्दा चितवन राइनोजले पाकिस्तानका मोहम्मद नवाज र इंग्ल्यान्डका रवि बोपारालाई टोलीमा समेटेको छ।
प्रतियोगिताको पुरस्कार राशि पनि यसपटक बढाइएको छ। दोस्रो संस्करणको विजेताले एक करोड १० लाख रुपैयाँ प्राप्त गरेकोमा यस वर्षको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउनेछ। क्यानका अनुसार यो नेपाली खेलकुदमा विजेता टोलीलाई प्रदान गरिने सबैभन्दा ठूलो पुरस्कार राशि हो।
प्रतियोगिताको उपविजेताले ८० लाख रुपैयाँ, तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। अघिल्लो संस्करणमा उपविजेताले ५१ लाख, तेस्रो हुने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पाएका थिए।
टोलीगत पुरस्कारसँगै प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले कारसमेत प्राप्त गर्नेछन्। नयाँ प्रविधि, अन्तर्राष्ट्रिय स्तरका खेलाडी र बढाइएको पुरस्कार राशिका कारण एनपिएलको तेस्रो संस्करणलाई नेपाली क्रिकेटको महत्वपूर्ण प्रतियोगिताका रूपमा हेरिएको छ।

