काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो। बैठकअघि सभापति शेरबहादुर देउवाले आफ्नो च्याम्बरमा राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम प्रस्ताव गरेका थिए।
सो प्रस्ताव अनुमोदन कार्यसम्पादन समितिको बैठकबाट भएको हो। यसैबीच नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।