काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को निर्देशनमा परराष्ट्रमन्त्री बिमला राई पौडेलको जेनेभा भ्रमण रद्द भएको छ। परराष्ट्रमन्त्री पौडेल मानवअधिकार काउन्सिलको कार्यक्रममा भाग लिन आज बेलुका जेनेभा जाने तयारी थियो। पौडेल नेकपा एमालेको तर्फबाट परराष्ट्रमन्त्री बनेकी थिइन्। राष्ट्रपति निर्वाचनका लागि बदलिएको सत्ता समीकरणका कारण प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको भ्रमण रोक्न निर्देशन दिएको हुनसक्ने बताइएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको निर्देशनसँगै परराष्ट्रमन्त्री पौडेलले जेनेभा भ्रमण रद्द गरेकी छन्। परराष्ट्र मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले आफ्नो भ्रमणबारे जानकारी गराएकी थिइन्। पत्रकार सम्मेलनमा मन्त्री पौडेलले आफ्नो जेनेभा भ्रमण रोक्न कसैबाट निर्देशन नआएको बताएकी थिइन्।