काठमाडौं । नारायणगढ–मुग्लिन सडक पूर्ण सञ्चालनमा आएको छ । केही ठाउँमा पुलको मुख खोल्न तथा फराकिलो बनाउन भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समय सडकमा सवारी आवागमन बन्द गरिँदै आएको थियो। भित्तो काट्ने काम अन्तिम चरणमा पुगेकाले अब सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ।
भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो। पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले सवारीसाधन रोकेर ५ ठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएकाले सवारी रोकेर भित्तो काट्ने काम आइतबारदेखि बन्द गर्न लागिएको हो।
तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानसहितको डाँडो थियो। सो डाँडोलाई काट्न कठिन भएको हो। सो पहाडको अझै ४० मिटर काट्न बाँकी छ। यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टिको भित्तो काट्ने काम अन्तिम चरणमा रहेको छ। सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ। यी पुलसँगै काम थालिएका ९ पुलका भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन्।
यसअघि नै सो सडकका ५ पुल बनिसकेका थिए। ५ वटा पुल निर्माणाधीन छन्। सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो।