काठमाडौं । कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइन आयोजना निर्माणमा भइरहेको अवरोध हटाउन पहल गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको टोलीले पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको हो ।
देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै स्थानीय बासिन्दाले विगत तीन वर्षदेखि प्रसारणलाइनको रुट सार्न माग गरिरहेका छन् । निर्माणमा अवरोध गर्दै आएका छन् । अवरोधका कारण फलेवासमा प्रसारणलाइनका चार टावरहरू निर्माण हुन सकेको छैन ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजना प्रमुख चन्दन घोषलगायत अधिकारी र जनप्रतिनिधि सम्मिलित टोलीले निर्माणमा अवरोध भइरहेको फलेवास–६, देवीस्थानको स्थलगत निरीक्षण गरेको छ ।
टोलीले प्रसारणलाइन निर्माणस्थलको स्थलगत निरीक्षण गरी स्थानीय बासिन्दासँग छलफल गरेको थियो । टोलीले कालीगण्डकी र यसका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि यो लाइन महत्त्वपूर्ण रहेकाले अवरोध नगर्न आग्रह गरेको थियो ।
लाइन अभावमा जलविद्युत् आयोजनाहरूको विद्युत् मुख्य रूपमा वर्षायाममा प्रवाह गर्न नसकिएको भन्दै टोलीले यसबाट राष्ट्रलाई ठूलो क्षति भइरहेकोले निर्माणमा सहयोग गरिदिन अनुरोध गरेको थियो ।
प्रसारणलाइनको टावर सार्न सम्भव भए/नभएको विषयमा प्राविधिक टोलीले चार/पाँच दिनभित्रमा सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको कार्यकारी निर्देशक घिसिङले बताए । “प्रसारणलाइनमुनि विद्यालय पर्छ भन्ने स्थानीयको कुरा थियो, तर स्थलगत निरीक्षणबाट मार्गधिकारमा विद्यालय नपर्ने देखिएको छ,” उनले भने, “सर्वेक्षण सम्पन्न भएपछि विद्यालयलाई प्राथमिकतामा राखी प्राविधिक रूपमा सम्भव भएसम्म टावरलाई रंगशालाको डिलतर्फ च्यापेर टावर निर्माण गर्ने सहमति भएको छ । रंगशालाभन्दा तल भीर रहेकोले टावर धेरै तलसम्म लैजाने सम्भावना देखिँदैन ।”