काठमाडौं । गोकर्णेश्वर नगरपालिका तेक्वान्दो विकास समितिको संयोजन, गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा ईष्टपोल उच्च मा. वि को व्यवस्थापकीय भूमिकामा शनिबारदेखि प्रथम गोकर्णेश्वर न.पा खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता (मेयर कप—२०७९) शुरु भएको छ ।
तेक्वान्दो खेलाडीहरुको वृत्ति विकास तथा मनोभावना उच्च बनाउने र भविष्यमा गोकर्णेश्वर नगरपालिकामा तेक्वान्दो खेलको राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा १८ वटा तौल समुहकाबीच प्रतिस्पर्धा गराइएको छ । जसमा पुरुष तौल समुह जुनियर र सिनियर गरी १० वटा तौल समुह रहेका छन् भने महिला तौल समुह जुनियर र सिनियर गरी ८ वटा तौल समुह रहेका छन् । जसमा १० वटा विभिन्न स्कुल र ८ वटा विभिन्न डोजाङ गरी जम्मा ३ सय १० जान खेलाडी (पुरुष १ सय ८० र महिला १ सय ३०) जनाले भाग लिएका छन् ।
शनिबारको खेलमा मूलपानी तेक्वान्दो डोजाङका प्रशान्त धमला र प्रगति कुइँकेलले तेक्वान्दोमा स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा शनिबार पुरुष २८ केजीमुनि फाइनलमा प्रशान्तले नव मन्जुश्रीका रेवत प्रधानलाई हराए । महिला ३८ केजीमुनि फाइनलमा प्रगतिले बोधिसदनकी सन्ध्या तामाङलाई हराइन् ।
पुरुष २५ केजीमा नव मन्जुश्रीका सन्जिव जिरेल र ३६ केजीमुनि कोटेश्वरका इमोन राना पहिलो भए । महिला ३० केजीमुनि नव मन्जुश्रीकी सिस्तोला कुइँकेल, ३४ केजीमुनि कोटेश्वरकी सुरक्षा केसी, ४२ केजीमुनि फेरिल्यान्डकी अपेक्षा ढुंगाना, ४६ केजीमुनि गोकर्णेश्वरकी सुमिना तामाङ र ४९ केजीमुनि नव मन्जुश्रीकी सुष्मा राई विजयी भए ।
संघीय सांसद सन्तोष चालिसेले उद्घाटन गर्दै गोकर्णेश्वरको खेलकुद विकासका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिका अध्यक्ष सोभितमान गिरीले साहसिक प्रस्तुति दिने क्रममा आफ्नो पेटमा १ सय ५० केजीको ढुंगा राखेर फुटाएका थिए । दुईदिने प्रतियोगितामा १९ डोजाङका २ सय ७० खेलाडीले विभिन्न १८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजकले जनाएको छ ।