काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएको छ ।
नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएई २२ ओभर ५ बलमा रन बनाउँदा ७१ रनमै अलआउट भयो । यूएईका लागि आयन अफजल खानले सर्वाधिक २९ रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले ५ विकेट लिए । यस्तै सन्दीप लमिछानेले २ तथा सोमपाल कामी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए । यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खान, जहूर खान, रोहन मुस्तफा र जवार फरिदले २÷२ विकेट लिए । यो जितसँगै नेपालले दुई खेलअघि नै एकदिवसीय मान्यता जोगाएको छ । कीर्तिपुरमा भएको खेलमा दर्शकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
तस्बिरमा हेर्नुहोस्
तस्बिर: क्यान