काठमाडौं । गोरखामा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो १ बजे गोरखा नगरपालिका-६ बिसौनीमोडमा अनियन्त्रित भएर मिनीट्रक दुर्घटनामा पर्दा एक जनाको मृत्यु र सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।
गोरखा बसपार्कबाट आबुखैरेनी जाँदै गरेको प्र.३-०१-००३ क ६१७० नम्बरको मिनीट्रक अनियन्त्रित भएर विपरीत दिशाबाट जाँदै गरेको बा ८६ प १७८५ नम्बरको मोटरसाइकल तथा पैदलयात्रीलाई ठक्कर दिएको थियो।
दुर्घटनापछि घाइतेलाई उपचारको लागि जिल्ला अस्पतालमा गोरखा पठाइएको थियो। जसमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी छ।
शहिदलखन गाउँपालिका-७ की ३० वर्षीया रमला राना मगर, ५९ वर्षीय लालबहादुर गुरूङ, गोरखा-१०की ४० वर्षीया साबित्री विक र ६८ वर्षीय नारायण भुजेलको गोरखामा उपचार जारी छ।
२८ वर्षीय मंगल चौधरी, दोलखाका ३२ वर्षीय विष्णु खड्का र बुद्धिबहादुर नेपालीको थप उपचारको लागि भरतपुर मेडिकल अस्पताल पठाइएको छ।