लमजुङ । लमजुङको राइनास नगरपालिकालाई अबको तीन वर्ष भित्रमा बालमैत्री नगर घोषणा गरिने भएको छ । नगरपालिकाले तीन वर्षमा बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गरी २०८२ फागुन मसान्त सम्ममा नगरलाई बालमैत्री नगर घोषणा गर्ने तयारी गरेको हो ।
नगरपालिकाले सोको लागि कार्यविधि निमार्ण गरी नगरसभाबाट पारित समेत गरिसकेको छ । गत शनिबार सम्पन्न राइनास नगरपालिकाको ११ नगर सभामा स्थानीय बाल समिति गठन तथा सञ्चालन सम्वन्धी कार्यविधि २०८० पारित भएको महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सितादेवी गैह्रेले बताइन् । १० वटा वडा रहेको राइनास नगरपालिकाका सवै वडामा बालमैत्री स्थानीय शासनका आवश्यक सूचक पुरा गरी प्रत्येक वडा र नगरलाई बाल मैत्री घोषणा गर्न नगरसभामा सहभागि जनप्रतिनिधि तथा सरोकारबालाहरुले प्रतिवद्धता जनाएका हुन् ।
नगरपालिकालाई बालमैत्री वनाउने सम्वन्धमा चालु आर्थिक वर्षबाट आवश्यक पूर्वाधार तथा कार्यविधि निमार्ण सँगै अभिमुखिकरणका काम थालेको प्रमुख प्रशासकिय अधिकृत गोकर्णराज सुयलले बताए ।
चैत्र मसान्तसम्म बालबालिकाको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघसस्था, विज्ञ सहितको सहभागितामा स्थानीय बाल अधिकार समिति गठन गर्ने नगरपालिकाले जनाएको छ । बालमैत्री नगर घोषणाको लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन सँगै स्रोत साधन परिचालन गर्ने राइनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनालले बताए । नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले बालमैत्री नगर घोषणा गर्न सबैको साथ र सहयोग आवश्यक पर्ने बताए ।