काठमाडौं । पत्रकार दिपेन्द्रविक्रम तामाङको निधन भएको छ । मध्यान्ह राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक रहेका तामाङको शनिबार मेडासिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तामाङलाई केही दिन पहिले ब्रेन ह्याम्रेज भएको थियो ।
लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका तामाङ इमेज एफएमको संवाददाता, सिटिजन एफएमको समाचार प्रमुख, रेडियो जनता एफएमको स्टेशन म्यानेजर र जनता खबर डटकमका सम्पादक रहेका थिए ।
पछिल्लो समय उनी मध्यान्ह दैनिकमा कार्यकारी सम्पादनको रुपमा रहेका थिए । उनी तामाङ भाषाका चलचित्रका लेखक तथा निर्देशक समेत रहेका थिए । स्व.तामाङको शवलाई बौद्धस्थित तामाङ गुम्बामा राखिएको छ ।
स्व. तामाङको शवलाई अन्तिम श्रद्धान्जलीका लागि आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय नाचघरमा राखिने र लामा गुरुहरुको सल्लाहमा बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्व.तामाङको श्रीमती, एक छोरी र एक छोरा छन् ।