काठमाडौं । वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता कार्यक्रम छ। उपनिर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन्।
आयोगका प्रवक्ता शालिग्राम पौडेलले उपनिर्वाचनमा भाग लिनका लागि तनहुँ १ र बारा २ मा २६ वटा तथा चितवन २ मा १८ वटा राजनीतिक दल दर्ता भएको जानकारी दिए। चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।
गत मंसिर ४ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। त्यस्तै प्रतिनिधिसभा सदस्यमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएकाले रिक्त स्थान पूर्ति गर्न ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगका प्रवक्ता पौडेलले तीनवटा निर्वाचन क्षेत्रमा मतदान भएको एक साताभित्र नतिजा सार्वजनिक गरिसक्ने बताए।