काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो ।
राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित सोमबार युवराज पौडेल सफलले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
पौडेलले दायर गरेको उक्त रिटमा ‘लामिछानेविरुद्ध मुद्दा नचलाउने गरी चैत ६ गते महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्दाको निष्पक्ष अनुसन्धान गरी मुद्दा चलाउनका लागि विपक्षीका नाममा परमादेश जारी गरी पाउँ’ भन्ने माग गरेका छन् ।
पौडेलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालयका साथै जिल्ला प्रहरी परिसर काठमाडौं, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय, रवि लामिछाने समेत आठ व्यक्ति तथा निकायलाई विपक्षी बनाएका छन ।