काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा बुधबार सुनुवाइ हुँदैछ। लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेसी मंगलबार परे पनि उक्त मुद्दा हेर्न नमिल्ने भन्दै आजका लागि सरेको हो।
पेसी न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा तोकिएको थियो। न्यायाधीश सिन्हाले संवैधानिक इजलासमा रहेर लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ गरिसकेकाले उनको अर्को मुद्दाको सुनुवाइमा बस्न नमिल्ने भन्दै अस्वीकार गरेका थिए।
रविविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चल्नुपर्ने मागदाबी गरिएको रिटमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो। लामिछानेले राहदानी दुरुपयोग गरेको भनेर परेको उजुरीका सन्दर्भमा मुद्दा नचल्ने भनेर महान्यायाधीवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै सोमबार सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो।