काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा उनले देशका समस्या सबैका साझा भएकाले समाधानका लागि आपसी सहमति र सहकार्य आवश्यक रहेको बताए।
गुणस्तरीय शिक्षा, बेरोजगारी अन्त्य, सुलभ स्वास्थ्य सबै दलका साझा मुद्दा भएकाले यसमा सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको सभापति लामिछानेको भनाइ थियो।
रास्वपा कुनै दलको दुश्मन नभइ आम जनताको असलमित्र बन्न चाहेको सभापति लामिछानेले बताए। उनले इमानको राजनीतिमा सम्झौता नगर्ने बताउँदै गलत काम गर्ने कसैलाई पनि छुट दिन नसकिने स्पष्ट पारे। राजनीतिक यात्रा सुरु भएपछि हरेक किसिमका मानिस पार्टीमा जोडिने भएकाले गलत कुराको सधै विरोध गर्ने उनको भनाइ थियो।
तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.स्वर्णिम वाग्लेले तनहुँका जनता चेतनशील भएकाले कस्तो नेतृत्व आवश्यक पर्छ भन्नेमा मूल्याङ्कन गर्न आग्रह गरे। उनले जिल्लावासीले गर्व गर्न लायक सांसद बन्ने चाहना रहेको बताउँदै तनहुँको विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाए।