काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५० नमूनामध्ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण देखिएको हो ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३८६ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २१ जना, आईसीयूमा ७ र भेन्टिलेटरमा ३ जना उपचाररत छन्। संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।
यसैबीच मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका हुन् ।