बारा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताएका छन् ।
बिहीबार बाराको गढीमाईमा सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो विमानस्थलको कामले अब छिट्टै गति लिने विश्वास दिए ।
उनले भने “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ। म तपाईँहरू सामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ।”
उनले गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने र त्यसका लागि गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्द्धन गर्ने सरकारको योजना रहेको बताए। विद्युतीय सिँचाइ प्रणालीमार्फत सिँचाइको व्यवस्था गर्ने र उपेन्द्र यादवको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिन प्रधानमन्त्रीको भनाइ छ।