काठमाडौं । आइतबार सम्पन्न मतदानका क्रममा निर्वाचन आचार संहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन दुईका उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
नेपाली कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो ।
निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आइतबार अबेर स्पष्टिकरण सोधिएको र आज त्यसको जवाफ आउने बताए ।
निर्वाचन भई राखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूल हुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले लामिछानेलाई नै सहयोग गरेको भन्दै काँग्रेसले उजुरी दिएको थियो ।