काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ। दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकबाट संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७९ पारित गर्ने तयारी छ।
बैठकमा संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७९ माथि दफावार छलफल हुनेछ। आजै सो विधेयशमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ पेस गर्ने कार्यतालिकासमेत रहेको छ।
बैठकबाट सो विधेयक पारित गर्ने दलहरुको तयारी छ। सो विधेयक पारित नहुँदा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन। एमालेले संसदीय समितिमा ‘बार्गेनिङ’ गरेर तीनवटा समितिको नेतृत्व लिने सहमति भएपछि यो विधेयक अघि बढाइन लागेको हो।
आज प्रतिनिधि सभाबाट सो विधेयक पारित गरेपछि राष्ट्रियसभामा पठाइन्छ। वैशाख १५ गतेसम्म विधेयक पारित र प्रमाणीकरण सक्ने कार्यतालिका छ। अनि, यो अधिवेशन अन्त्य गर्ने सरकारको योजना छ।
यस्तै, आजको बेठकमा विशेष समिति गठन गरियोस् भन्ने प्रस्ताव इश्वरीदेवी न्यौपानेले पेस गर्ने कार्यतालिका पनि छ। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) माथि छलफल गर्न १५ सदस्यीय विशेष समिति बनाउन लागिएको हो। यो समितिलाई अर्को अधिवेशनको प्रारम्भमा नै विधेयकमाथिको प्रतिवदन दिनेगरि समय दिने तयारी छ।