लमजुङ । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना परियोजना कार्यान्वयन ईकाई लमजुङ(मनाङ)ले परियोजनाको जानकारी अलैची मौरीबाली बस्तुको मूल्यश्रृङ्खला विकास सम्बन्धि जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रमको बुधबार जिल्ला समन्वय समितिको हलमा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख गुरुङले प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना परियोजना कार्यान्वयन ईकाई लमजुङ(मनाङ)ले अलैची उत्पादन क्षेत्रमा राम्रो कार्य गरेको बताउँदै सरकारसँग समन्वय गरी आगामी कार्यहरु गर्नुपर्ने बताए ।
जिल्लामा अलैची खेतीका लागि उपयुक्त स्थान हुनुका साथै हावापानी पनि राम्रो भएकाले लमजुङमा अलैची व्यवसायीहरुको भविष्य राम्रो रहेकोे उनले बताए । अलैची खेतीलाई अझै व्यवस्थित र गुणस्तर गरेर अगाडी बढ्नुपर्ने उनले बताए ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना परियोजना कार्यान्वयन ईकाई लमजुङ(मनाङ) का प्रमुख अजय अधिकारी, ईकाइका कृषि अधिकृत हरि मिजार, दाङका मौरी विज्ञ माधव केसी, नेपाल अलैची जोन गण्डकी प्रदेशका संयोजक अजय तामाङ, अलैची जोन लमजुङका संयोजक सोमराज तामाङ, अलैची व्यवसायी सेतीमाया तामाङलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनीहरुले परियोजना तथा कार्यपत्र प्रस्तुत, परियोजना कार्यान्वयन प्रकृया, मौरीको नश्ल सुधार तथा प्रजनन सम्बन्धी, मौरी आहारा व्यवस्थापन, मौरीको तथ्याङ्क तथा बस्तुस्थिति, कार्यालयको हालसम्मको प्रगति, बजारीकरणको समस्या, अलैची कृषकस्तरमा रहेको समस्यालगायतको बारेमा जानकारी तथा प्रवचन दिएका थिए ।
परियोजना बारे जानकारी गराई प्रभावकारी कार्यान्वयनका लागि सहजीकरण गर्ने मौरी तथा अलैचीको मूल्य श्रृङ्खलामा भूमिका निर्वाह गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरिएको परियोजना ईकाइ प्रमुख अजय अधिकारीले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना परियोजना कार्यान्वयन ईकाइ लमजुङ(मनाङ) का प्रमुख अजय अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थितिलाई ईकाइका नायव प्राविधिक सहायक अस्मिता ढकालले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन ईकाइका कृषि अधिकृत हरि मिजारले गरेका थिए । कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि,सरोकारवालासहित ९० जनाको उपस्थिति रहेको थियो ।