काठमाडौं । नेकपा एमाले केन्द्रिय समितिको बैठक आज पनि जारी रहने छ । २८ बैशाखदेखि सुरु भएको केन्द्रिय समिति बैठक भोलि अर्थात् बैशाख ३० गतेसम्म जारी रहनेछ ।
केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेश गरेका थिए ।
केन्द्रिय प्रचार तथा प्रकाशन बिभागका सचिव गगन बिष्टका अनुसार हिजो पेश गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ ।
‘आज गण्डकीबाट पद्मा अर्याल, बाग्मतीवाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशबाट सुजिता शाक्यले आआफ्नो क्षेत्रको प्रतिवेदन पेश गर्नेछन्,’ उनले भनेका छन, ‘उक्त प्रतिवेदनमाथि समूह बिभाजन गरी छलफल गरिने भएको छ, समूह छलफलपछि प्रदेश अध्यक्षहरुले निष्कर्षका रुपमा सुझाव प्रस्तुत गर्नु हुनेछ ।’
हिजो सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका प्रमुख केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कडेँल र निर्वाचन आयोगका प्रमुख बिजय सुब्बाले आआफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरी, मिसन ग्रास रुटका बारेमा पाँचवटा प्रदेश प्रमुखले प्रतिवेदन पेश गरेका थिए। जसअनुसार सुदुरपश्चिमबाट लेखराज भट्ट, कर्णालीबाट योगेश भट्टराई, लुम्बिनीबाट छबिलाल बिश्वकर्मा, मधेसबाट रघुवीर महासेठ र कोशी प्रदेशबाट राजेन्द्र गौतमले आ(आफ्नो प्रदेशको रिर्पोट प्रस्तुत गरेका थिए। बाँकी रहेका प्रदेश कमिटीहरुले आज आ(आफ्नो प्रतिवेदन पेश गर्नेछन्।