काठमाडौं । आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।
प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले आज दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका छन् ।
“सगरमाथा समिटसम्मको रुट फिक्सिङ सक्यो, दिउँसो १ बजेर ५२ मिनेटमा आठ जना शेर्पा र एक फोटोग्राफर चुचुरोमा पुगे”, कम्पनीका कार्यकारी निर्देशक दावा ग्याल्जे शेर्पाले बताए ।
अहिले धेरै संख्यामा आरोही सगरमाथाको चौथो शिविरमा रहेकाले आइतबार बिहानसम्म उल्लेख्य आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको उनको भनाइ छ ।