जनक श्रेष्ठ
लमजुङ । लमजुङ बेसीशहर नगरपालिका वडा नं. ८ फुलबारीमा आगलागी व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्लामा आगालागीबाट धनजनको ठूलो क्षति हुनुका साथै पछिल्लो समयमा आगलागीका घटनाहरु बढ्दै गएकाले शनिबार बिहान फुलबारीमा उक्त कृत्रिम अभ्यास गरिएको हो ।
लमजुङ पुर्नलाभ परियोजना र ग्रामीण समुदायिक विकास केन्द्र(आर्सिडिसी)को आयोजना तथा बेसीशहर नगरपालिकाको समन्वय र सशस्त्र प्रहरी बल रानीकुवाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।
यस कार्यक्रममा कृत्रिम घटनाको रुपमा घरमा आगलागी भएपछि कसरी आगो नियन्त्रण गर्ने र घाईतको उद्वार समयमै कसरी गर्न सकिन्छ भनेर शसस्त्र प्रहरीले अभ्यास गरेर स्थानीयलाई जानकारी प्रदान गरेको थियो ।
साथै सिलिन्डर ग्यासका कारणले हुने आगलागीजन्य बिपतबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने बारेमा शसस्त्र प्रहरीले जानकारी गराएका थिए । यस्ता घटना बढ्न थालेको र विपद्का घटना न्यनिकरणका लागि मदत पुग्ने लक्ष्यका साथ आयोजित यस कार्यक्रममा स्थानीयले समेत अभ्यास गरेका थिए ।
यस कार्यक्रमलाई सम्बोधन गर्दै बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले विपद् जुनसुकै बेला पनि आईपर्ने भएकोले यसबाट जोगिने उपाय सिकेर बस्नुपर्ने बताए । सहरी कारणका आगलागीका घटनामा समयमा दमकल पुग्न नसक्दा जोखिम हुने भएकाले नागरिका लागि यस्ता कार्यक्रम सार्थक हुने उनको भनाई छ ।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सहरीकारण, अव्यवयस्थीत बसोबासमा ग्यासको प्रयोगले गर्दा जोखिम बढेको बताउनुभयो । आगलागी हुदा मानिस बेलैमा सजग हुन जरुरी रहेकाले आगलागी नियन्त्रण सम्बन्धि विधि तथा तरिका सिक्नुपर्नेमा उनले जोड दिए । आगलागीबाट जोगिन नजान्दा ठूलो क्षति ब्यहोर्नु पर्ने भएकोले कृत्रिम घटना अभ्यासले जोगिना केही सहयोग पुग्ने उनको दाबी छ ।
आरसीडिसीका कार्यकारी निर्देशक विश्वनाथ घिमिरेले जिल्लामा आगलागीका घटना बढ्दै गएको र यस्ता कार्यक्रमले सो घटना हुन नदिन संचेतना फैलाउनुका साथै विपद्का घटना न्यूनिकरण गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनका अनुसार यस सम्बन्धि कार्यक्रम मस्र्याङ्दी गाउँपालिकामा समेत आयोजना गरिएको थियो ।
यस कार्यक्रममा शसस्त्र प्रहरी लमजुङका प्रहरी नायव उपरिक्षक मानबहादुर शाही, प्रहरी नायब उपरिक्षक प्रकाश श्रीमल, आरसीडिसीका अध्यक्ष राजेन्द्र बोहरा, बेसीशहर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कंडेल, आरसिडिसीका कार्यक्रम संयोजक हेमराज विमली, सञ्चारकर्मी, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।