काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रुपमा लागेको बताएका छन्।
सोमबार काठमाडौंमा राष्ट्र बैंक नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौंथो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्धन हुन नसक्ने भन्दै सरकार भ्रष्टाचार विरुद्ध गम्भीर रुपमा लागेको बताएका हुन्।
भ्रष्टाचारीहरुलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आमजनताले समर्थन र ऐक्यवद्धता गरेको भन्दै उनले भ्रष्टाचारीहरुलाई कुनै पनि बहानामा बचाउने काम नहुने स्पष्ट पारे।
प्रधानमन्त्री प्रचण्डले तरलता र ब्याजदर लगायतका अन्य कतिपय परिसूचकहरुमा समेत सुधार आएको भन्दै अर्थतन्त्रका अन्य क्षेत्रका समस्या समाधान गर्दै दिगो आर्थिक विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित गर्न जरुरी रहेको बताएका हुन्।