लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित नौथरसेरा देखि सिमि ताजे जोड्ने सडकको निर्माण कार्य शुरु भएको छ । दोर्दी गाउँपालिका वडा नं. ४ नौथरसेरादेखि वडा नं. ६ सिमि ताजेसम्म ७.८५० किलोमिटर सडकको निर्माण कार्य आजदेखि शुरु भएको हो ।
संघ, सरकार र गाउँपालिकाको ५०-५० प्रतिशत लगानीमा उक्त सडक निर्माण कार्य आजदेखि धमाधम सुरु भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्राविधिक शाखा प्रमुख विश्वास पाण्डेका अनुसार पालिकाको स्टेमेन्ट ७ करोड २० लाख रुपैयाँ रहेकोमा भ्याट बाहेक ४ करोड ७७ लाख रुपैयाँमा निर्माणको जिम्मा देवकोटा गणपति जेभी नुवाकोटले लिएको छ ।
१३ प्रतिशत भ्याट सहित ५ करोड ३९ लाख रुपैयाँमा उक्त सडक निर्माण कार्य सम्पन्न हुनेछ । यस सडकको हाल सडक कटिङ, चौडाई गर्ने, मेशिनरी वाल लगाउने, नाली निर्माण गर्ने, तीन ठाउँमा कल्भर्ट राख्ने, ग्याविन जाली लगाउने लगायतका काम हुने भएको छ । साथै उक्त बजेटभित्र ३ किलोमिटर सडक कालोपत्र, ३०० मिटर जति सडक ढलान कार्य समेत हुने भएको छ ।
उक्त जेभीले गाउँपालिकासँग गत वैशाख १० गते सम्झौता गरेको थियो भने, सम्पन्न गर्नुपर्ने आगामी विसं. २०८२ असार २५ गतेसम्म रहेको प्राविधिक प्रमुख पाण्डेको भनाई छ । उनले भने,‘यस सडकको चौडाई नालीसहित ८ मिटरको रहनेछ ।
नाैथरसेरा र सिमि ताजे स्थानीय लाभान्वित हुने यस सडक निर्माणले स्थानीय उत्साहित बनेका छन् ।’ सडक निर्माण पश्चात् पालिकासम्म आउन र जिल्लाको सदरमुकाम बेँसीसहर पुग्न तथा जिल्ला बाहिर जानका लागि समेत सो सडक निर्माणले यात्रा सहज बनाउने स्थानीयको भनाइ छ ।
यस सडकको सोमबार एक कार्यक्रमका बीच गाउँपालिकालअध्यक्ष युवराज अधिकारीले शिलान्यास समेत गरेका छन् । गाउँपालिका अध्यक्ष अधिकारीले गुणस्तरीय सडक निर्माण गर्दै समयमा निर्माण कार्य सम्पन्न गर्न ठेकेदारलाई आग्रह गरेका छन् ।
सडक निर्माणले विषेश गरी सिमि ताजेका स्थानीय बढी लाभान्वित हुने र गाउँगाउँमा उत्पादित तरकारीहरु बजारसम्म पुर्याउनका साथै यात्रा गर्न सहज हुने उनको भनाई छ ।