काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालप्रति वैदेशिक चासोसहित हस्तक्षेप बढेको बताएका छन् ।
अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपछि अमेरिकाको सक्रियता र चासो पनि थप बढेको नेता खनालले जनाएका छन् ।
आज बिहान काठमाडौंमा आयोजित ३० औँ मदन–आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै एमसीसी पारित भएपछि अमेरिकी नेताहरू तारान्तर नेपाल आउन थालेको उनको भनाइ छ । ‘एमसीसी पारित भएपछि अमेरिकी नेताहरू तारान्तार नेपाल आउन थालेका छन्, उनीहरू आउने बितिक्कै सुरुमा तिब्बतियनहरूलाई भेट्न पुग्छन् र गृहमन्त्रीलाई भेटेर उनीहरूको परिचय पत्र बनाउन लगाउँछन्,’ उनले भने, ‘यो सब बिषयलाई गम्भिर रुपमा हेर्नुपर्छ, अमेरिकीहरूबाट खुल्लम खुल्ला रुपमा यस्तो वैदेशिक हस्तक्षेप यसअघि कहिल्यै भएको थिएन ।’
पछिल्लो समयमा राष्ट्र र राष्ट्रियतामाथि विदेशी चलखेल थप बढेको उल्लेख गर्दै नेता खनालले देशमा संकट पर्दा मदन भण्डारीलाई स्मरण गर्नुपर्ने अवस्था आएको जनाएका छन् । भण्डारीले वैदशिक हस्तक्षेपविरुद्ध डटेर सामना गर्नका लागि सदैव प्रेरणा दिने गरेको पनि खनालले स्मरण गरेका छन् ।