काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चासोको विषय बनेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले विश्वका संघसंस्थाहरुले गम्भीर रुपमा यसलाई हेरेको भन्दै दोषीलाई नछोड्ने र निर्दोषलाई नपर्ने नीतिमा अघि बढेको दावी गरे। उनले यसमा शंका नगर्न भन्दै तात्विक निष्कर्षमा पुर्याउने दाबी गरे।
‘यो अब अन्तर्राष्ट्रिय विषय भएको छ। अन्तर्राष्ट्रिय समुदाय सबैले गम्भीर ढङ्गले हेरेका छन्,’ उनले भने, ‘सरकार यसलाई निष्कर्षमा पुर्याउन दृढ रहेको छ।’
प्रधानमन्त्रीलाई नेपाल मजदूर किसान पार्टीका सासद प्रेम सुवालले नक्कली शरणार्थी प्रकरणका दोषीले उन्मुक्ति पाउने त होइन भनी प्रश्न गरेका थिए।
सुवालले नक्कली भुटानी शरणार्थी बनाउने कार्य किन भयो र यस्तो गर्ने अभियुक्तहरुमाथि कारबाही हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका थिए।
नक्कली भुटानी शरणार्थीबारे तीन दलले उन्मुक्ति दिन खोजेको त होइन? नक्कली भुटानी शरणार्थी पनि महान्यायाधिवक्ताको कार्यालयले मुद्दा दर्ता नगराउने हो कि? भन्दै उनले प्रश्न गरे।