काठमाडौं । अविरल वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा बाढी र पहिरोले जनजीवन प्रभावित बनेको छ।
कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढी र पहिरोमा परी १० जना बेपत्ता छन्। १ जनाको मृत्यु भएको छ भने १६ जना सम्पर्कविहीन भएका छन्।
हेवा खोलामा आएको बाढीले बगाएर संखुवासभामा १ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको छ। मृतकको पहिचान हुन बाँकी छ।
हेवा खोलामा बाढी आउँदा १८ जना सम्पर्कविहीन भएकामा २ जना सम्पर्कमा आएका छन्। १६ जना अझै सम्पर्कविहीन रहेका डीएसपी गोदारले जानकारी दिए।
चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढी आएको हो। बाढीले हेवा खोला जलविद्युत्मा क्षति पु¥याएको छ। सोही जलविद्युत् आयोजनामा कार्यरत १६ जना मजदुर सम्पर्कविहीन भएका हुन्।
ताप्लेजुङमा एकै परिवार ३ सहित ४ जना बेपत्ता
शनिबार रातिको वर्षासँगै आएको पहिरोले घर बगाउँदा ताप्लेजुङमा एकै घरका ३ जना बेपत्ता भएका छन्।
सिदिङ्वा गाउँपालिका–६ मेहेलेका स्थानीय यादव बुढाथोकीको घर पहिरोले बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएका हुन्।
यस्तै, मेहेलेकै भरत तामाङ समेत बेपत्ता भएका छन्। खोला छेउमा रहेको घरमा बाढी पसेपछि आमाबुवालाई सुरक्षित स्थानमा सारेर फर्किने क्रममा भरत बेपत्ता भएका स्थानीय कमल कडरियाले जानकारी दिएका छन्।
सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा अहिले साब्लाखु प्रहरी चौकीको टोली पुगेको छ। वर्षा जारी रहेका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको गाउँपालिका उपप्रमुख कडरियाले जानकारी दिइन्।
बाढी र पहिरोले ताप्लेजुङका धेरैजसो सडक पूर्णरूपमा अवरुद्ध भएका छन्। यस्तै, याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत् आपूर्ति समेत ठप्प भएको छ।
वर्षासँगै आएको बाढीले सिदिङ्वा गाउँपालिकाको आङ्खोपमा ३ घर बगाएको छ। इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको छ।
बाढी बस्तीमा बसेपछि आङ्खोपका स्थानीयहरु घर छाडेर सुरक्षित स्थानमा गएका छन्।
यस्तै, मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ। मध्यरातमा बाढी आएपछि बजारका अधिकांश स्थानीय अन्तै सरेका छन्। बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ।
मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।
पाँचथरमा ६ जना बेपत्ता
शनिबार रातिको अविरल वर्षापछि आएको बाढीले बगाउँदा पाँचथरमा ६ जना बेपत्ता भएका छन्। बाढीका कारण ठूलो परिमाणमा भौतिक संरचनामा पनि क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोला माथिको पुल बगाइदिएको छ।
हेवा खोलामा आएको बाढीले ६ जना बेपत्ता भएको खबर प्राप्त भएको प्रहरीले जानकारी दिएको छ।