काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप ग्लोबल छनोट क्रिकेटमा अमेरिकाविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ।
जिम्बावेको हरारे क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । हालसम्म नेपालका तर्फबाट करण केसीले ४ विकेट लिइसकेका छन् ।
१४ ओभरको खेल सकिँदा सम्म अमेरिकाले ४ विकेट गुमाएर ३३ रन बनाएको छ । लिग टू प्रतिद्वन्द्वी अमेरिकाविरुद्ध जित दर्ता गर्दै नेपाल प्रतियोगितामा अंकको खाता खोल्न चाहन्छ ।
सोमपाल कामीको स्थानमा मंगलबार ललितनारायण राजवंशीलाई खेलाइएको छ। सोपालको हातमा चोट लागेका कारण उनलाई प्लेइङ सेटमा नराखिएको हो।
यसअघि पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बाब्वेसँग ८ विकेटले हारेको थियो । जिम्बावेविरुद्धको खेलमा कुशल भुर्तेलले ९९ र आसिफ शेखले बनाएको ६६ रनको अर्धशतकीय पारीको मद्दतमा नेपालले दुई सय ९१ रनको लक्ष्य दिएको थियो ।
सो खेलमा ब्याटिङमा सन्तुलन देखिए पनि फिल्डिङ कमजोर बन्दा नेपाल पराजित हुन पुग्यो । अमेरिकाले पनि आफ्नो पहिलो खेलमा वेस्टइन्डिजसँग ३९ रनको पराजय ब्यहोरेका थियो ।
नेपाल र अमेरिकाबीच यसअघि आईसीसी लिग टू अन्तर्गत अमेरिकाको टेक्ससमा एक दिवसीय भेट भएको थियो । जसमा अमेरिका ३९ रनले विजयी भएको थियो । पछिल्ला पाँच भेटमा दुई खेल नेपालले जित्दा अमेरिका दुई खेलमा विजयी भएको छ भने एक खेल बराबरी भएको छ ।