काठमाडौं । हुम्लाको सर्केगार्डमा ग्रामीण आँखा उपचार केन्द्र स्थापना गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानको आर्थिक तथा प्राविधिक सहयोगमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।
सर्केगार्ड गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर रावतले दुर्गमको गाउँपालिकामा पहिलो पटक ग्रामीण आँखा उपचार केन्द्र स्थापना गरिएको बताए । यसका लागि गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानका बीच सम्झौतासमेत भएको छ।
गाउँपालिकाको तर्फबाट अध्यक्ष ठानबहादुर रोकाया र प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक डाक्टर रिता गुरुङले हस्ताक्षर गरेका छन्।
केन्द्रका लागि प्रतिष्ठानले एक वर्षका लागि एक जना जनशक्तिको व्यवस्था गरेको छ भने उपचारका लागि उपकरणहरू पनि प्रतिष्ठानले उपलब्ध गराएको छ। एक वर्षपछि भने गाउँपालिकाले जनशक्तिको व्यवस्था गर्नु पर्नेछ।
गाउँपालिका अध्यक्ष रोकायाले केन्द्र स्थापना भएसँगै अब आँखाको परीक्षण र आँखा सम्बन्धित सबै खाले रोगको उपचारमा सहज हुने विश्वास व्यक्त गरे ।