लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुले बाख्रा पालन सम्बन्धि तालिम पाएका छन् । पालिकाभित्रका अपाङ्गता भएका नागरिकहरुको जिवनयापनलाई सरल र सहज बनाउन १ दिन तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
तालिम गाउँपालिका महिला तथा बालबालिका शाखाले सञ्चालन गरेको हो । उक्त तालिमको मंगलबार गाउँपालिका हलमा पालिका अध्यक्ष युवराज अधिकारीले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिको आयअर्जनमा बृद्धि गर्न तालिम सञ्चालन गरिएको बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिलाई विभिन्न सिप तथा दक्षतामा बृद्धि गरी उनीहरुको जिवनयापन सरल बनाउन गाउँपालिका लागि परेको उहाँको भनाई छ । पालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई प्रथामिकतामा राखी योजना तथा कार्यक्रम सञ्चालन गरेको अध्यक्ष अधिकारीले बताउनुभयो ।
महिला तथा बालबालिका शाखाका प्रमुख रन्जु विकका अनुसार तालिममा पालिकाभित्रका अपाङ्गता भएका २१ जना नागरिकको सहभागिता रहेको छ । तालिममा सहभागिहरुलाई पशु शाखा प्रमुख शकंर पन्थीसहित पशु शाखाका कर्मचारीहरुले तालिम प्रदान गर्नुभएको छ ।
सहभागिलाई बाख्राको जात, बाख्रामा लाग्ने रोग, उपचार विधि, खोर व्यवस्थापन, व्यवसायीक बाख्रा पालन सम्बन्धि सिपलागयतको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
तालिम सामाजिक विकास समितिका संयोजक अम्विका मरह्ठको अध्यक्षतामा भएको थियो । तालिमको सञ्चालन महिला तथा बालबालिका शाखाका प्रमुख रन्जु विकले गर्नुभएको थियो । कार्यक्रममा पालिका अपाङ्गता सञ्जालका खला अधिकारी, दु्रव परियार, यमकुमार थापालगायत प्रशिक्षर्थीहरुको उपस्थिति रहेको थियो ।
तालिममा सहभागि भएकाहरुलाई बुधबार बाख्रा समेत वितरण गरिने महिला तथा बालविकास शाखाले जनाएको छ ।