काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अदालतको अवहेलना गरेको भन्दै मेयर शाहविरुद्ध अधिवक्ता वर्षा कुमारी झाले शुक्रबार रिट दायर गरेकी हुन्।
मेयर बालेन्द्रले बिहीबार सामाजिक सञ्जालमा लेख्दै देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने बताएका थिए।
भारतीय फिल्म आदीपुरुष काठमाडौंमा चलाउन उनले प्रतिबन्ध लगाएका थिए। उनको प्रतिबन्धपछि फिल्म हल सञ्चालकले उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले फिल्म सञ्चालनमा प्रतिबन्ध नलगाउन आदेश दिएको थियो।
अदालतको आदेशपछि उनले त्यो फिल्म चलाउन दिनु भनेको अदालत पनि भारतको गुलाम भएको बुझिन्छ भन्दै विवादास्पद टिप्पणी गरेका थिए।