काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बैग्लोरको श्री कान्तिरभा स्टेडियममा शनिबार भएको खेलमा नेपाल घरेलु टोली भारतसँग २–० ले पराजित भएको हो।
खेलको पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोकेको नेपाली टोली दोस्रो हाफमा सम्हालिन नसक्दा हार भोग्न बाध्य भयो। खेलको ६२ औं मिनेटमा भारतिय कप्तान सुनिल क्षेत्रीको गोलमा नेपाल १–० ले पछि परेको थियो। उत्कृष्ट लयमा रहेका सुनिलले पाकिस्तानविरुद्ध ह्याट्रिक गरेका थिए।
खेलको ७० औं मिनेटमा महेश नोरेमको गोलमा नेपाल २–० ले पछि परेको हो। भारतसँगको हारसँगै नेपाली टोलीको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ। अघिल्लो सिजन नेपाल र भारतले साफको फाइनल खेलेका थिए। समूह चरणको पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो।