काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाल समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ।
भूमाफिया, कर्मचारी र राजनीतिक नेतृत्वको त्रिपक्षीय मिलेमतोमा भएको बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हिनामिनाको फाइल खोलेर प्रहरीले फेरि अनुसन्धान अघि बढाएको छ।
सिआइबीले मंगलबार यो प्रकरणमा जोडिएका भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्कीलाई पक्राउ गरेको हो।
गुरुङ, शाह, गौतम र कार्की हिरासतमै छन् भने अदालतबाट पहिल्यै ‘स्टे अर्डर’ जारी भएका केसी, देउजा र कपालीलाई भने हाजिर जमानीमा छाडिएको छ ।