लमजुङ । लमजुङ र मनाङ जोड्ने बेसीसहर–चामे सडक अवरुद्ध भएको छ । तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो ।
बेसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार बेसीसहर चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल आजदेखि निर्माण गरिँदै छ । सो स्थानमा वैकल्पिक सडक मार्ग नभएकाले यातायात सेवा दुई दिनसम्म अवरुद्ध हुने उनले बताए ।
अधिकारीका अनुसार उक्त स्थानमा दुई वर्षअघि काठे पुल निर्माण गरिएको हो । पुल जीर्ण भएपछ पुराना काठ हटाएर अहिले नयाँ राख्न थालिएको हो । पुल निर्माणका लागि मङ्गलबारबाटै रुख काट्ने, पुलका लागि फलेक बनाउनेलगायत काम भइरहेको इन्जिनियर अधिकारीले बताए ।